मगर जातिका उद्भव र मगर नामाकरण सम्बन्धमा अनेकौ भनाइहरू रहेका छन् । मगर जातिको प्रथम प्रादुभाव कहाँ र कहिले भएको थियो ? भन्ने सम्बन्धमा भरपर्दो प्रमाणिक स्रोतहरु पाइँदैनन् । लेखक एम,एस, थापामगर को पुस्तक ‘प्राचीन मगर र अक्खालिपि’ (२०४९) अनुसार— सर्वप्रथम मगरहरू वा अन्य मंगोलियाई वंशजहरू यस भारतीय महाद्धिपमा ढुङ्गे वा शिकारी युगमा आजभन्दा चारहजार बर्ष पहिले प्रवेश गरेका हुन् । चीनको ऐतिहासिक बृतान्तमा उल्लेख भएअनुसार ईशापूर्व एकतीससय बर्ष पूर्व आजको मंगोलियाई देशको दक्षिण, पामिर पठारदेखि पूर्व र तिब्बतदेखि उत्तरको क्षेत्रमा ठूलो भौगोलिक प्रलय भइ सो क्षेत्र सामुन्द्रिक बाढीले प्रलय भएको थियो । त्यस क्रममा बाँच्नका लागि उनीहरू अन्यत्र बसाइँ सरेका थिए । तिब्बतदेखि उत्तर पामिर पठारदेखि दक्षिण र चीनको सिचुवान क्षेत्रदेखि पश्चिम हाल विशाल बलौटे क्षेत्र रहेको छ । त्यहाँ कोकोनारताल, लोवनोरताल जस्ता तालहरू पनि अवशेषका रूपमा बाँकी रहेका छन् । मंगोलाइड वंशज मगरहरू पनि जिविकाको खोजिमा त्यतैतिरबाट आजभन्दा चारहजार वर्ष पहिले भारतीय महाद्धीपमा प्रवेश गरेको देखिन्छ । उक्त भौगर्भिक प्रलयलाई आजभन्दा चारहजार देखि पाँचहजार बर्ष भन्दा अगाडी भएको अनुमान भूगर्भशास्त्रीहरूले लगाएका छन् । यसप्रकार प्राचीन समयमा अन्य जाति सरह भारतीय महाद्वीपमा मंगोलाइड जाति मगरहरू पनि चीनको मामिर तर्फबाट बसाइँ सरेका हुन् । मगर लगायतका अन्य मंगोलियाई वंशजहरू यस भारतीय महाद्वीपमा प्रवेश गरेको देखिन्छ । यस महाद्धीपमा बसोबास गर्ने इसापूर्व चारसय–पचास अर्थात बत्तीससय वर्षभन्दा अगाडी कसैले पनि आफ्नो जातिको लिखित इतिहास पाउँन सक्दैनन् । किनकी यस महाद्धीपमा सबैभन्दा प्राचीनतम् लिखित पुस्तकहरू बौद्धग्रन्थ त्रिपिटक विनयका बौद्ध ग्रन्थहरू इसापूर्व चारसय–पचासमा मात्र लेखन सुरू गरिएको हो । यहि बौद्ध ऐतिहासिक बिन्दूबाट नै यहाँका मगर जातिहरूले आफ्ना पूर्खाका मौखिक तथा लिखित इतिहासहरू फेला पार्न सक्दछन् । अन्दाज अनुमान लगाउँन सक्दछन् । यस भन्दा अगाडीका इतिहास खोज्नु परे भूगोल र भाषामा खोज्नुपर्छ । किनकी जुन मानिस जहाँ सर्वप्रथम बसोबास गरेको हुन्छ । त्यस ठाउँको नामपनि उसले आफ्नै भाषामा राखेको हुन्छ ।
किराँत मुन्धुम अनुसार— हिमालयको उत्तरी भेगस्थित ‘सिन’ नामक स्थानमा सर्वप्रथम मगरहरू देखा परेका थिए । ‘सिन मगर’ र ‘चितु मगर‘को नेतृत्वमा मगरहरू उत्तरबाट दक्षिणतिर झरेका थिए । लेखक इमानसिङ चेमजोङको भनाई अनुसार – “मगर जातिको उत्पत्ति हाल चीनको ‘सिम’ भन्ने स्थानबाट भएको हो । यिनीहरू त्यस ठाउँबाट ‘सिङ’ र ‘चितु’ भन्ने दुई मगरहरूको नेतृत्वमा सर्वप्रथम नेपालको दक्षिणी भेगमा प्रवेश गरेका थिए । शरदचन्द्र शर्माका अनुसार– मगरहरू तिब्बतको ‘काङपाचान’ उपत्यकाबाट शेर्पासँग युद्ध गर्दा पराजित भएर नेपाल प्रवेश गरेका हुन् । शिल्भाँ लेभीले लेखेका छन्– मगरहरू नेपालको इतिहासमा इश्वीको चौधौ शताव्दी एकैपटक देखापरे । यिनीहरू तिब्बती मूलका हुन् भन्ने स्पष्ट छ । धेरैजसो खसहरू त वास्तवमा मगर जातका हुन् । फ्रान्सिस टुकरको विचारमा— केही मगरहरू भारतको चितौरगढबाट नेपालमा आएका हुन् । ऋषिराज राना चितौरगढका राजा थिए । उनी पछि तेह्रौ पुस्तासम्मले चितौरमा शासन गरे । पछि उनका पुस्ताहरू मिन्चाले नुवाकोटमा र खाम्चाले पाल्पा भिरकोटमा शासन गरे । मिन्चाले हिन्दू धर्मको अनुसरण गरे । खाम्चा र उनका सन्तानले मगर भएर बुद्ध धर्मको अनुसरण गरे ।
कसैले मगरलाई ‘मिचाखान’ र ‘खाचाखान’ सँग पनि जोडने गरेका छन् । ‘मिचाखान’ र ‘खाचाखान’ सम्बन्धमा इतिहासकार बाबुराम आचार्यको भनाई अनुसार— गोर्खा राजवंशका आदि पुरुष ‘जैतखान’ मानिएका छन् । जैत खानका छोरा ‘सूर्यखान’ भएका थिए । यिनका दुई भाई छोराहरू भए ‘खाचाखान’ तथा ‘मिचाखान’ । यो यिनीहरूको वास्तबिक नाम होइन् । भनिन्छ, स्थानीय मगर बोलि अनुसार ‘कार्हाञ्चा’ शब्दको अर्थ ‘जेठो’ र ‘मिर्हाञ्चा’ शब्दको अर्थ कान्छो भन्ने हुन्छ । ‘कार्हाञ्चा’ र ‘मिर्हाञ्चा’ शब्दबाट नेपाली भाषामा ‘खाँचा’ तथा ‘मिचा’ शब्दहरू बनेका मानिन्छ । उनै दूई दाजुभाइ जेठामगर र कान्छामगरलाई नै ‘खाचाखान तथा मिचाखान’ भनिएको हुन सक्दछ । एम.एस. थापामगरका अनुसार– प्राचीन समय इतिहासमा मगर जातिलाई मगर नामले उल्लेख नगरि लिच्छवी, बृजि, विडाल, मेदेस, भाटी, कवि वा कभि, सिथयन, अफर्ति, अवाटी र चिनियाँ इतिहासकारले ‘यु–चि’ भनि मगर जातिलाई उल्लेख गरेका छन् । अहिले प्रचलित ‘मगर’ शब्द आर्य ब्राह्मणद्वारा राखिएको आधुनिक शब्द हो । चाँगुको जगज्जय मल्लको ताम्रपत्रमा मगरलाई ‘मगल’ शब्द उल्लेख छ । ‘मंगोल’ शब्दको अपभ्रंशबाट बनेको ‘मगर’ शब्द हो ।
लेखक बमकुमारी बुढामगरका अनुसार– यो मंगोल जातिको जुँगा नहुने हुँदा दूईजना साथीले तेस्रो जुँगावाललाई देखेर एक आपसमा आश्चर्य मान्दै मगर भाषामा भने ‘मङरङ’ (जुँगा हेर त ?) अनि पटक पटक ‘मङर ङ’—मङरङ’ भन्दै शब्द दोहोर्याउँदै जाँदा पछिल्लो ‘रङ’ शब्द ‘ङर’ भइ ‘मङ्ङर’ हुनगयो । जब अन्य भाषा (नेपाली खस भाषा) सुरूभयो ‘ङङ’ अक्षर ‘ग’ उच्चारण हुन गइ ‘मगर’ हुनगयो । मङ्ङरहरूले एक आपसमा बोल्दा ‘गे मङ्ङर चलन’ भन्ने गरिन्छ भने कैयौ अमगरहरूले पनि ‘मङ्ङर गाउँ’‘ मङ्ङर चलन’ तथा ‘आमा मङ्ङरनी’ भन्ने गर्दछन् । शुद्ध उच्चारण मगर नभै ‘मङ्ङर’ नै हुने अहिले पनि चलन रहेको छ । डा.हर्षबहादुर बुढामगरका अनुसार— वैदिक संस्कृत भाषा अनुसार मंगोलीयन जातिका प्राचीनकालमा जुंगा–दाह्री कम हुने, टाढाबाट नदेखिने हुनाले अन्य जातिले स्त्री पुरुष छुट्याउँन नसक्दा आपस्तमा संस्कृत भाषा–भाषीहरूले ‘मंगोल’ पुरुष जातिलाई ‘किन्नर’ (कसरी पुरुष) भन्ने चलन चल्यो । यो ‘किन्नर’ जाति भनेको आजका मगर जातिलाई औल्याइएको हो । उनका अनुसार— मगरहरू मध्य भागमा बसेकाले मगर भनिएको हो । ‘मगध’ बाट नेपालमा प्रवेश गरेको हुनाले यिनीहरूलाई ‘मगध’बाट ‘मगर’ भनिएको हो । लेखक आत्माराम ओझाले लेखेका छन्— भारतको पटना स्थित किताब महल पुस्तकालयमा रहेको बौद्धकालीन इतिहासको अध्ययन गर्दा भारतीय इतिहास पुरुष चन्द्रगुप्त मौर्य मगर थिए ।
लेखक नरू थापामगरको भनाई अनुसार— मगधमा मगर राज्य थियो । थारू र मगर एकै थिए । मगधबाट मगरहरू सर्दै उत्तरतिर लागे । मगरहरूको एउटा हाँगा तराई क्षेत्रबाट माथि उक्लेनन् र मगधी भाषा बोलिरहे । आजपनि नेपालमा गुरुङ, मगरहरूले घाटुनाच नाच्छन् । घाटुनाचको गीत केही नेपाली खसभाषा, केही मागधी भाषामै छ । जस्तो– ‘बैठैला’, ‘लिपैला’, ‘जागैला’, ‘ठोकैला’, ‘छमकैला’ आदि छन् । मगधी भाषाका शब्दहरू मगरका घाटुनाचमा आज पनि प्रयोग गरिन्छ । भाषाका आधारमा बिश्लेषण गर्दा मागधी भाषा मगरका घाटु गीति नाट्यमा प्रयोग हुनुले पनि मगधसँग मगरको सम्बन्धलाई देखाउँदछ । प्रो.राजनाथ पाण्डेले प्राचीनकालमा मगरलाई ‘मंगल’ भनिन्थ्यो भनी लेखेका छन् । मगरहरू मंगोल जातिको एक हाँगा भएकोले उनीहरू ‘मंगल’ भनिनु औचित्यपूर्ण तर्क मान्न सकिन्छ । यस दृष्टिकोणबाट पनि ‘मंगल’ भन्दा– भन्दै ‘मगर’ भनिएको हुन सक्दछ । लेखक डा.केशवमान शाक्यको बिचारमा— प्राचीन बुद्धकालीन प्रख्यात ‘नाग’ जाति नै मगरहरू हुन् । मगध नागहरूले नै बनाएका प्राचीन बस्ती थियो । ती ‘नाग’ जातिलाई ‘मगः’ पनि भनिन्थ्यो । मगर जाति ‘मंगोल’ हुनुका साथै ‘मगध’ पनि हो । यस हिसाबले मगर जाति र मगध राज्यको सम्बन्ध देखिन्छ । यी जातिको नामबाट मंगोल–मंग्वर–मगर–मगध–मगराँत भएको हो । सिक्किमेली मगरका विश्वास अनुसार— भारतका भूभाग मगध नामक राज्य मगरका पुर्खाले गरेका हुन् । अघि मगधलाई मगराँत भनिन्थ्यो । मगधका मगरहरु उत्तर पट्टि लागी पश्चिम नेपालतर्फ प्रवेश गर्दै समस्त पूर्व नेपालमा बसोबास गर्न पुगेका हुन् ।


